समाचार

नेपाल आइसिसी महिला यु–१९ विश्वकप क्रिकेटबाट जितविहीन रूपमा बाहिरियो

नेपाल आइसिसी महिला यु–१९ विश्वकप क्रिकेटबाट जितविहीन रूपमा बाहिरियो

काठमाडौं । नेपाल आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट जितविहीन रूपमा बाहिरिएको छ। बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोरेर विश्वकप यात्रा टुंग्यायो।

मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याउँदै नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो। कप्तान पूजा महतोले ४२ बलमा १८ रन बनाएर नेपालको तर्फबाट सर्वाधिक योगदान दिइन्। त्यस्तै, ओपनर सना प्रविनले २२ बलमा ८ रन जोडिन् भने सावित्री धामीले ७ बलमा ८ रन बनाइन्। सिमाना केसीले १५ बलमा ६ रन मात्र बनाइन्।

अघिल्लो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको चुनौती प्रस्तुत गरेको थियो। अष्ट्रेलियाका लागि काइम्हे ब्रेले सर्वाधिक ४५ रनको योगदान दिइन्। उनले ३४ बलमा ३ चौका र ३ छक्काको मद्दतले यो रन बनाएकी थिइन्। त्यस्तै, इलियनर लारोसाले ३९ बलमा ३ चौका प्रहार गर्दै ३१ रन बनाइन्। हसरत गिलले ३०, क्लोइ क्याथरिनले अविजित १६ रन र इनेस आकेओनले ८ रन थपिन्।

नेपालका लागि बलिङतर्फ कप्तान पूजा महतोले ३ विकेट लिइन्। सिमाना केसीले २ विकेट लिँदै सानदार प्रदर्शन गरिन् भने रिया शर्माले १ विकेट झारिन्।

नेपाललाई सुपर सिक्स चरणमा पुग्न कम्तीमा एक खेल जित्नुपर्ने बाध्यता थियो। तर, नेपालले समूह चरणका सबै खेल गुमायो। पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग १ विकेटले हार बेहोरेको थियो। समूह ‘डि’को सबैभन्दा बलियो मानिएको अष्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेट र बङ्गलादेशलाई २ विकेटले हराउँदै सुपर सिक्समा स्थान सुरक्षित गरेको छ।

ADVERTISEMENT