राजनीति

प्रचण्डको चेतावनी: “क्रान्तिमा मित्र र दुश्मन छुट्याउन नसक्दा बलिदान व्यर्थ हुन्छ”

प्रचण्डको चेतावनी: “क्रान्तिमा मित्र र दुश्मन छुट्याउन नसक्दा बलिदान व्यर्थ हुन्छ”

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति सफल बनाउन मित्र र दुश्मनबीचको भिन्नता स्पष्ट गर्न सक्नुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको चियापान कार्यक्रममा बोल्दै उनले युवालाई चेतावनी दिँदै भने — “जुनसुकै आन्दोलनमा पनि आफ्नो मित्र शक्ति र दुश्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिलाई संस्थागत गर्न सकिँदैन।”

उनले जेन–जि आन्दोलनका सन्दर्भमा भने, “हामीलाई पनि पहिल्यै आतङ्ककारी भनिएको थियो। जनताको हक र अधिकारका लागि उठ्नेहरूलाई आतङ्ककारी भन्नेको सोच अहिले पनि दोहोरिएको छ। उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका पक्षमा लड्दा हामीमाथि लगाइएको आरोप अहिले फेरि नयाँ पुस्तामाथि दोहोरिँदैछ।”

प्रचण्डले आन्दोलनमा सहभागी युवालाई सचेत रहन आग्रह गर्दै भने, “क्रान्तिको मूल शक्ति जनतामै हुन्छ। तर, यदि दुश्मनलाई साथी र साथीलाई दुश्मन ठानियो भने क्रान्ति असफल हुन्छ। तपाईंहरूले को तपाईंको पक्षमा छ, र को विपक्षमा छ, त्यसलाई स्पष्ट बुझ्नुपर्छ।”

देशको समसामयिक राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए। “हामी अहिले जटिल परिस्थितिबाट गुज्रिरहेका छौँ,” उनले भने, “संविधान र लोकतन्त्र जोगाउने सहज र समावेशी बाटो भनेकै माघ २१ गतेको निर्वाचन हो। त्यसलाई सफल पार्न दलहरू, नागरिक समाज, बुद्धिजीवी र सञ्चारकर्मी सबैको ऐक्यबद्धता जरुरी छ।”

पछिल्ला महिनाहरूमा युवाहरूले नेतृत्व गरेको जेन–जि आन्दोलनका घटनाहरूलाई लिएर माओवादी केन्द्रका शीर्ष नेताहरूले बारम्बार टिप्पणी गर्दै आएका छन्। प्रचण्डको ताजा भनाइले माओवादी केन्द्रले आफ्नो राजनीतिक सन्देश पुनः आन्दोलनका मुद्दासँग जोड्ने प्रयास गरिरहेको देखिन्छ — जसमा पुरानो क्रान्तिको स्मृति र नयाँ पुस्ताको उर्जा जोडिने संकेत पाइन्छ।

ADVERTISEMENT