समाचार

देशका अधिकांश जिल्लामा वर्षा रोकियो !

देशका अधिकांश जिल्लामा वर्षा रोकियो !

तीन दिनदेखि जारी मनसुन सक्रियतामा आइतबार बिहान केही कमी आएपछि देशका अधिकांश जिल्लामा वर्षा रोकिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि निरन्तर परेको अविरल वर्षा आइतबार बिहानसम्म पुग्दा कम भइसकेको जनाएको हो।

महाशाखाका अनुसार बिहान १०ः३० बजेसम्मको मापनमा ललितपुरको खुमलटारले देशभर सबैभन्दा बढी ३.६ मिलिमिटर वर्षा रेकर्ड गरेको छ। अन्य धेरै जिल्लामा भने वर्षा न्यून रहेको र कतिपय ठाउँमा घाम देखा परेको जानकारी दिइएको छ।

तर काठमाडौं उपत्यकाका केही भागसँगै पूर्वी तराईका मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा र सर्लाहीमा अझै छिटपुट वर्षा भइरहेको महाशाखाले जनाएको छ। त्यस्तै सिन्धुली र रामेछापका केही पहाडी क्षेत्रहरूमा हल्का पानी परिरहेको छ।

मौसमविद्हरूका अनुसार बङ्गालको खाडीबाट आएको मनसुनी वायू उत्तरतिर सर्दै जाँदा वर्षाको तीव्रता घटेको हो। आगामी २४ घण्टासम्म अधिकांश स्थानमा सामान्यदेखि आंशिक बदली रहने र कतिपय ठाउँमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

गत हप्तादेखि लगातारको वर्षाले देशका धेरै स्थानमा नदी–नाला बढ्नु, साना पहिरा खस्नु र यातायात अवरुद्ध हुने घटना देखिएका थिए। आइतबार बिहानदेखि मौसममा आएको सुधारले ती प्रभावित क्षेत्रका जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

मौसम महाशाखाले भने अझै मनसुनी प्रणाली पूर्णरूपमा कमजोर नभएको र केही दिनभित्र फेरि अस्थायी रूपमा वर्षा दोहोरिन सक्ने सम्भावना रहेको जनाएको छ।

विशेष