राजनीति

ओली–लेखकलाई नियन्त्रणबिना छाडियो भने देश डुब्छ, तुरुन्तै पक्राउ गर!

‘बनमारा’ ओली र ‘जलकुंभी’ लेखकः राष्ट्रलाई पुनः ग्रास गर्न खोज्दै दुई विनाशकारी प्रजाति

ओली–लेखकलाई नियन्त्रणबिना छाडियो भने देश डुब्छ, तुरुन्तै पक्राउ गर!

नेपालको राजनीतिक निकुञ्जमा दुई पात्र यस्ता छन्, जसले दशकौँदेखि शासन, नीति र जनविश्वासलाई भित्रभित्रै नष्ट गर्दै आएका छन्— केपी शर्मा ओली र रमेश लेखक। यी दुबै नेताहरूलाई धेरैले बनमारा र जलकुंभीसँग तुलना गर्न थालेका छन्, किनभने बनमाराजस्तै ओली र जलकुंभीजस्तै लेखक राजनीतिक र संस्थागत संरचनामा त्यही किसिमले फैलिएका छन्— बाहिरबाट हरियो र आकर्षक देखिने तर भित्रभित्रै प्रणालीलाई ग्रास गर्ने ढंगले।

केपी शर्मा ओलीलाई बनमारा बुटोसँग तुलना गर्नु केवल उपमा होइन, राजनीतिक यथार्थ हो। बनमारा सुरुमा दुधिला पातका कारण आकर्षक देखिन्छ, तर विस्तारै झाडी, बाली, स्थानीय वनस्पति सबै नष्ट गर्छ। ओली पनि सुरुवाती चरणमा “देश बनाउने” नारा र चाखलाग्दा भाषणका साथ एमालेभित्र उदाए। तर विस्तारै उनले वैकल्पिक नेतृत्वलाई थिचे, पार्टीलाई एक व्यक्ति–केन्द्रित बनाउँदै गए, र झोलेहरू बाहेक अरू शीर्ष नेताहरूलाई राजनीतिक रूपमा हाशियामा धकेले। युवापुस्ताको जेन–जेड आन्दोलनले यही बनमारालाई लगभग उखेलेर किनारमा पु¥याएको थियो। प्रधानमन्त्री हुँदाको अन्तिम चरणमा उनी युवाहरूको भौतिक आक्रमणबाट जोगिन सेनाको हेलिकप्टरमा भागेका थिए। अहिले परिस्थिति सामान्य भएपछि उनी पुनः फैलिन खोजिरहेका छन्— पुरानै शैलीमा, चेतावनी र भाषणमार्फत सत्ता कब्जाको संकेत दिँदै।

हालै भक्तपुरको गुन्डुमा आयोजित पार्टी कार्यक्रममा उनले अन्तरिम सरकारलाई व्यंग्य गर्दै पासपोर्ट रोक्ने हल्लाको प्रसंग निकाले र भने, “के ठानेको छ— यो हा हुको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ? हामीले यो देश बनाउने हो।” तर जनताले भन्छन्— देश बनाउने होइन, देशलाई बनमाराले नै ग्रास गरेको हो। रेल आउने भनेको रेल आएन, ग्यास पुग्ने भनेको ग्यास पुगेन, विकास र समृद्धि नारा मात्रै बन्यो। गल्ती स्वीकार्ने त कुरै भएन, उनी अझै पनि सन्यास होइन, पुनः सत्ताको होडमा छन्।

रमेश लेखकको भूमिका जलकुंभीजस्तै अझ खतरनाक छ। जलकुंभी पानी सतहमा छिट्टै फैलिन्छ, अक्सिजन घटाउँछ, माछा मार्छ, सिँचाइ अवरुद्ध गर्छ— र एक पटक फैलियो भने जल प्रणाली नै विषाक्त बनाउँछ। लेखक पनि गृहमन्त्री हुँदा त्यही किसिमले राज्य संयन्त्रमा फैलिएका थिए। जेन–जेड आन्दोलनको बेला गृह मन्त्रालयको नेतृत्वमा संवेदनशील निर्णय र दमनात्मक आदेश दिएका कारण धेरै नेपाली नागरिकले ज्यान गुमाए। तर उनले अहिलेसम्म राजनीतिक जिम्मेवारी स्विकार गरेका छैनन्, न जनतासामु माफी मागेका छन्। जलकुंभीजस्तै, उनी पनि राजनीतिक जलाशयमा गहिरो गरी जरा गाडेर बसेका छन्— जसलाई हटाउन सामान्य राजनीतिक परिवर्तन पर्याप्त हुँदैन।

आज सर्वसाधारणदेखि बौद्धिक वर्गसम्म, सहरदेखि गाउँसम्म एक साझा स्वर गुञ्जिरहेको छ— यी बनमारा र जलकुंभीजस्ता पात्रहरूलाई अब कानुनी जवाफदेहिताको कठघरामा उभ्याउनै पर्छ। यो कुनै एक दल वा समूहको माग होइन, सार्वभौम नेपाली नागरिकको साझा आवाज हो। जनताले स्पष्ट भनिरहेका छन्— यी नेताहरूले न गल्ती स्वीकार गरेका छन्, न राजनीति बाट सन्यास लिएका छन्, बरु पुनः सत्तामा फर्किन षड्यन्त्र गरिरहेका छन्। त्यसैले यिनलाई तुरुन्तै पक्राउ गरी निष्पक्ष अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने माग तीव्र रूपमा उठिरहेको छ।

ओली र लेखक दुबै पक्षबाट प्रत्यक्ष जवाफ सार्वजनिक भएको छैन, तर उनीहरूका राजनीतिक गतिविधिहरूले पुनः सत्ता कब्जाको संकेत प्रष्ट देखिन्छ। जनताले भने अब पुरानै दलदलमा फर्किने सहमति दिन तयार छैनन्। मुलुकको लोकतन्त्र र शासन प्रणालीलाई बचाउने कुरा अब केवल राजनीतिक नारामा सीमित राख्ने बेला होइन— बनमारा र जलकुंभीजस्ता पात्रहरूलाई कानुनी र राजनीतिक हिसाबकिताबमा ल्याएर राजनीतिक वातावरण सफा गर्ने वास्तविक कार्यवाही सुरु गर्ने समय आएको छ।

ADVERTISEMENT