बाजुराको मार्तडीमा असोज २२ देखि ‘बाजुरा कप’ फुटबल प्रतियोगिता आयोजना हुने

बाजुराको मार्तडीमा असोज २२ देखि ‘बाजुरा कप’ फुटबल प्रतियोगिता आयोजना हुने

सदरमुकाम मार्तडीमा असोज २२ गतेदेखि सुरु हुने ‘बाजुरा कप’ सेभेन–ए–साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो प्रतियोगिता असोज २६ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

बडा दशैं र तिहारको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता मालिका नमुना माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ। आयोजकका अनुसार इच्छुक टिमहरूले असोज २१ गतेसम्म टिम दर्ता गर्नुपर्ने छ, जसका लागि शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ।

प्रतियोगितामा विजेता टिमलाई नगद ६१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता टिमलाई ३१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने योजना छ—सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार, उत्कृष्ट गोलरक्षकलाई पाँच हजार र सर्वाधिक गोलकर्ता खेलाडीलाई तीन हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

गत वर्ष मार्तडीमै आयोजित वडा अध्यक्ष कप फुटबल प्रतियोगिताले स्थानीय युवाबीच खेलकुदप्रतिको रुचि बढाएको थियो। यस वर्षको बाजुरा कप पनि सोही ऊर्जा र उत्साहलाई निरन्तरता दिन आयोजित गरिएको आयोजक समितिले बताएको छ।

स्थानीय खेलप्रेमीहरूका अनुसार यो प्रतियोगिता खेलकुदमार्फत जिल्लामा एकताको सन्देश फैलाउने र नयाँ प्रतिभा पहिचान गर्न सहयोगी बन्ने अपेक्षा गरिएको छ। ग्रामीण क्षेत्रबाट उदीयमान खेलाडीहरूलाई राष्ट्रिय स्तरमा अघि बढाउने पाइला यही प्रकारका स्थानीय प्रतियोगिताबाट सुरु हुने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

संम्बधित खबर

ADVERTISEMENT