संखुवासभामा भारत सहयोगमा दिदिङ आधारभूत विद्यालय भवन उद्घाटन
काठमाडौं । भारत सरकारको सहयोगमा कोशी प्रदेशको संखुवासभा जिल्लास्थित चिचिला गाउँपालिका–३ मा रहेको दिदिङ आधारभूत विद्यालयको नयाँ विद्यालय भवन उद्घाटन गरिएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण भएको भवनको उद्घाटन काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले संयुक्त रूपमा गर्नुभएको हो।

सन् १९६२ मा स्थापना भएको दिदिङ आधारभूत विद्यालयमा हाल प्रारम्भिक बाल विकास (ईसीडी) देखि कक्षा ५ सम्म अध्यापन हुँदै आएको छ। विद्यालय भवनसहित आवश्यक सहयोगी संरचनाहरूको निर्माण चिचिला गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ पूर्वाधारले सिकाइ वातावरण सुधार्ने र क्षेत्रको शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

भारत र नेपालबीच नजिकको छिमेकीका रूपमा बहुक्षेत्रीय सहकार्य रहँदै आएको उल्लेख गर्दै, यस्ता परियोजनाले स्थानीय तहमा पूर्वाधार विकास तथा नेपाल सरकारका विकास प्रयासमा भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने बताइएको छ।
संखुवासभामा भारत सहयोग
