बालबालिकाको भविष्य जोखिममा, संयुक्त राष्ट्रसंघको प्रतिज्ञा अधुरै

बालबालिकाको भविष्य जोखिममा, संयुक्त राष्ट्रसंघको प्रतिज्ञा अधुरै

संयुक्त राष्ट्रसङ्घले विश्वमै अझै पनि दुई अर्बभन्दा बढी मानिस सुरक्षित र व्यवस्थित पिउने पानीको पहुँचबाट वञ्चित रहेको चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघको स्वास्थ्य संगठन (डब्लुएचओ) र बाल कोष (युनिसेफ) ले मङ्गलबार सार्वजनिक गरेको संयुक्त प्रतिवेदनले सन् २०३० सम्म सबैका लागि सुरक्षित पानी र सरसफाइ उपलब्ध गराउने लक्ष्य टाढिँदै गएको स्पष्ट पारेको हो।

गत वर्ष मात्र विश्वका चारमध्ये एक जनासम्म सुरक्षितरूपमा व्यवस्थित पिउने पानी नपुगेको तथ्याङ्क प्रस्तुत गरिएको छ। अझै करिब १० करोड मानिस सतहको पानीमै निर्भर छन्, जसले रोगको जोखिम उच्च बनाइरहेको प्रतिवेदनले देखाएको छ। डब्लुएचओका वातावरण विभाग प्रमुख रुडिगर क्रेचका अनुसार, “पानी, सरसफाइ र स्वच्छता कुनै विशेषाधिकार होइन, ती आधारभूत मानव अधिकार हुन्।” उहाँले विशेष गरी सीमान्तकृत समुदायका लागि प्रयास तीव्र पार्न आग्रह गर्नुभयो।

प्रतिवेदनले पिउने पानीलाई पाँच तहमा वर्गीकरण गरेको छ—सर्वोच्च तहमा घरमै उपलब्ध, आवश्यक बेला पाइने र प्रदूषणमुक्त सुरक्षित सेवा पर्दछ भने सबैभन्दा तल सतहको पानी मात्र उपलब्ध हुने अवस्था छ।

सन् २०१५ यता ९६ करोडभन्दा बढी मानिसले सुरक्षित पानी पाउन थालेका छन्, जसले विश्वव्यापी पहुँच ६८ प्रतिशतबाट ७४ प्रतिशतमा पुर्‍याएको छ। तर अझै दुई अर्ब १० करोड मानिस सुरक्षितरूपमा व्यवस्थित पानीबिनै बाँचिरहेका छन्। तीमध्ये १० करोड ६० लाखले अझै सतहको पानी प्रयोग गरिरहेका छन्। यो संख्या अघिल्ला १० वर्षमा केही घटे पनि चुनौती गम्भीर नै छ।

सरसफाइको क्षेत्रमा प्रगति देखिए पनि अन्तराल गहिरो छ। २०१५ देखि १ अर्ब २० करोड मानिसले सुरक्षित रूपमा व्यवस्थित शौचालय सुविधा पाएका छन् र विश्वव्यापी दर ४८ प्रतिशतबाट ५८ प्रतिशतमा पुगेको छ। खुला शौच गर्ने मानिसहरूको सङ्ख्या घटेर अहिले ३५ करोड ४० लाखमा सीमित छ, जुन एक दशकअघिको तुलनामा करिब ४३ करोडले कम हो। यस्तै, घरमै साबुन र पानीसहित हात धुने सुविधा पाउने दर ६६ प्रतिशतबाट ८० प्रतिशतमा पुगेको छ।

युनिसेफकी वाश विभाग प्रमुख सिसिलिया शार्पले बालबालिकामाथि पर्ने असरलाई जोड दिँदै भन्नुभयो, “जब बालबालिकाले सुरक्षित पानी, सरसफाइ र स्वच्छताको पहुँच पाउँदैनन्, उनीहरूको स्वास्थ्य, शिक्षा र भविष्य गम्भीर जोखिममा पर्छ।” उहाँका अनुसार विशेष गरी केटीहरूलाई अझ बढी प्रभाव पर्छ, किनकि उनीहरू प्रायः पानी ल्याउने जिम्मेवारीमा हुन्छन् र मासिक धर्मका बेला थप कठिनाइ भोग्छन्।

हालको गतिमा अघि बढ्दा प्रत्येक बालबालिकालाई सुरक्षित पानी र सरसफाइको प्रतिज्ञा पूरा नहुने प्रष्ट देखिन्छ। यो चुनौतीले अन्तर्राष्ट्रिय समुदायलाई द्रुत कदम चाल्न बाध्य बनाइरहेको छ, किनभने सुरक्षित पानी र स्वच्छता नपाउने करोडौँ मानिसको जीवन अझै असुरक्षित भविष्यतर्फ धकेलिँदै छ।

संम्बधित खबर

विशेष

ADVERTISEMENT