समाचार

देशभर विशेष पूजासहित गणेश चतुर्थी पर्व मनाइँदै

देशभर विशेष पूजासहित गणेश चतुर्थी पर्व मनाइँदै

देशभर विघ्नहर्ता भगवान् गणेशको पूजा आराधनासहित आज गणेश चतुर्थी पर्व मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यस पर्वमा गणेशको जन्मजयन्तीको स्मरण गरिन्छ। शास्त्रीय मान्यताअनुसार सत्ययुगमा यिनै तिथिमा शिवपार्वतीका पुत्र गणेशको जन्म भएको हो, जसले सबै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त गरेका छन्।

काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा भक्तजनले बिहानैदेखि पूजाअर्चना गरी आस्था प्रकट गरेका थिए। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष तथा धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार हरितालिका तीजको व्रत पारायण गरेपछि चतुर्थीका दिन गणेशलाई अघ्र्य दिने शास्त्रीय विधान छ। उहाँका भनाइमा भाद्र शुक्ल तृतीयामा दाम्पत्य सुख र शान्तिको कामना गर्ने व्रतालुले चतुर्थीमा विघ्न नआओस् भन्ने उद्देश्यले गणेशको पूजा गर्ने परम्परा पुराणसम्मै उल्लेखित छ।

नेवार समुदायमा यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पुरानो सांस्कृतिक परम्परा हो। विसं २०६५ देखि चतुर्थीको भोलिपल्ट काठमाडौंसहित प्रमुख शहरमा गणेश रथयात्रा सुरु गरिएको परम्परा अहिले निरन्तर छ। यसैगरी विसं २०६४ मा यसै दिन स्थापित राष्ट्रिय धर्मसभा संस्थाले आफ्नो स्थापना दिवसका रूपमा पनि गणेश चतुर्थीलाई स्मरण गर्ने गरेको छ।

धार्मिक श्रद्धा, सांस्कृतिक अभ्यास र सामाजिक सहभागिताले एकैसाथ समेटिएको यो पर्व विघ्नहर्ता गणेशको आराधनामात्र होइन, साझा सामुदायिक भावनाको प्रतीकका रूपमा पनि निरन्तर मनाइँदै आएको छ।

विशेष

ADVERTISEMENT