समाचार विदेश

अमेरिकी खोप नीतिमा विवाद : सिडिसी प्रमुख मोनारेज बर्खास्त, वरिष्ठ अधिकारीहरूको राजीनामा

अमेरिकी खोप नीतिमा विवाद : सिडिसी प्रमुख मोनारेज बर्खास्त, वरिष्ठ अधिकारीहरूको राजीनामा

संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुख सुसन मोनारेजलाई बर्खास्त गरिएको विषय बुधबार सार्वजनिक भएपछि अमेरिकी खोप नीतिमा चर्को विवाद सतहमा आएको छ। अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) को नेतृत्व सम्हालेका मन्त्री रोबर्ट एफ. केनेडी जुनियरसँग खोप नीति विषयक असहमति गहिरिँदै गएपछि ह्वाइट हाउसले मोनारेजलाई पदमुक्त गरेको पुष्टि गरेको हो।

ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले एएफपीलाई पठाइएको विज्ञप्तिमा “सुसन मोनारेज राष्ट्रपतिको अमेरिकालाई स्वस्थ बनाउने कार्यसूचीसँग मेल खान सक्दिनन्” भन्दै उनको बर्खास्तीको कारण प्रष्ट्याएका छन्। प्रवक्ताका अनुसार, मोनारेजले राजीनामा दिन चाहेको जानकारी दिए पनि अन्ततः पद नत्यागेपछि ह्वाइट हाउसले उनलाई हटाउने निर्णय गरेको हो।

तर, मोनारेज पक्ष भने यो दाबी अस्वीकार गर्छ। उनका वकिलले एएफपीलाई दिएको प्रतिक्रियामा, “मोनारेजले न त राजीनामा दिनुभयो न त बर्खास्तीको औपचारिक जानकारी पाउनुभयो” भन्दै उनको विज्ञानप्रति निष्ठा र समर्पणलाई राजनैतिक दबाबका कारण निशाना बनाइएको आरोप लगाएका छन्। वकिलले केनेडीको निर्देशनलाई “अवैज्ञानिक र लापरबाहीपूर्ण” भन्दै, मोनारेजले त्यसलाई स्वीकार नगरेकाले उनलाई हटाइएको बताएका छन्।

यसबीच, सिडिसीका पाँच जना वरिष्ठ अधिकारीले पनि राजीनामा घोषणा गरेका छन्। दुई हजारभन्दा बढी कर्मचारीलाई प्रतिनिधित्व गर्ने एएफजीई लोकल २८८३ युनियनले विज्ञप्ति जारी गर्दै “अनुभवी नेतृत्वको अचानक राजीनामा स्तब्ध पार्ने घटना हो” भन्दै यो निर्णयलाई राजनीतिक दबाबको परिणाम बताएको छ।

सिडिसीको राष्ट्रिय खोप तथा स्वासप्रस्वास रोग केन्द्रका निर्देशक डेमेट्रे दासकलाकिसले एक्समा लेख्दै “सिडिसीलाई वैज्ञानिक सत्यसँग मेल नखाने नीतिको उपकरणमा परिणत गरियो, यस्तो वातावरणमा म सेवा गर्न सक्दिन” भन्दै पदत्याग गर्ने घोषणा गरेका छन्। उनीसँगै प्रमुख चिकित्सा अधिकृत डेब्रा होउरी र ‘नेशनल सेन्टर फर इमर्जिङ एण्ड जुनोटिक इन्फेक्शियस डिजिज’का निर्देशक डेनियल जर्निगनले पनि राजीनामा दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

मोनारेजको बर्खास्तीबारे पहिलो पटक समाचार प्रकाशन गर्ने वासिङ्टन पोस्ट का अनुसार, मन्त्री केनेडीले आफ्नो खोप नीति परिवर्तनलाई समर्थन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउन नमानेपछि उनलाई पद छोड्न दबाब दिएको थियो। यसरी विवाद चर्किँदै जाँदा अमेरिकाको सार्वजनिक स्वास्थ्य संस्थाभित्रै गहिरो विभाजन देखिएको छ।

यस घटनाले देखाएको जस्तो राजनीतिक हस्तक्षेप र वैज्ञानिक नीतिबीचको टकरावले अमेरिकी स्वास्थ्य प्रणालीको विश्वसनीयता र भविष्यप्रतिको भरोसामा दीर्घकालीन प्रश्न खडा गर्ने संकेत गरेको छ।

ADVERTISEMENT