समाचार

बाग्मती प्रदेशसभा सभामुख भुवन पाठकको राजीनामा औपचारिक रुपमा

बाग्मती प्रदेशसभा सभामुख भुवन पाठकको राजीनामा औपचारिक रुपमा

बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले बुधबार औपचारिक रूपमा पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एपमार्फत पठाएका छन्। पाठकले नेपाल संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम पत्र बुझाउँदै भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा सुरक्षा निकायबाट भएको अस्वाभाविक बल प्रयोगप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

गत भदौ २३ गते भएको प्रदर्शनमा बल प्रयोगका कारण जनधनको क्षति भएको घटनापछि भदौ २४ गते नै उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए। तर प्राविधिक कारण देखाउँदै तत्काल औपचारिक पत्र बुझाउन नसकेको उनको भनाइ छ। सबै कानुनी प्रक्रिया पूरा गरेर उनले बुधबार मात्र आधिकारिक रूपमा राजीनामा पठाएका हुन्।

पत्रमा पाठकले राष्ट्र शोकमा डुबिरहेको बेला युवापुस्ताको भावना र जनताको चाहना विपरीत पदमा रहिरहनु आफूलाई उचित नलागेको उल्लेख गरेका छन्। उनले राजीनामा पत्रको प्रतिलिपि प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई समेत बुझाएका छन्।

राप्रपाको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका पाठक २०७९ पुस २८ गते एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा ६४ मत प्राप्त गरी सभामुख निर्वाचित भएका थिए।

उनको राजीनामाले प्रदेशसभाको नेतृत्वमा नयाँ समीकरण खडा गर्ने संकेत गरेको छ, जसले आगामी दिनमा बाग्मती प्रदेशको राजनीतिक दिशा कस्तो मोड लिन्छ भन्ने विषयलाई थप जटिल बनाएको छ।

549421854_1508328190583255_6005441635945078611_n

ADVERTISEMENT