समाचार विदेश राजनीति

अन्तरिम सरकार प्रमुख बनेकी कार्कीको मोदीसँग पहिलो उच्चस्तरीय कुराकानी!

अन्तरिम सरकार प्रमुख बनेकी कार्कीको मोदीसँग पहिलो उच्चस्तरीय कुराकानी!

 नेपालकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार भिडियो संवाद हुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार दुवै नेताबीचको यो वार्तामा पारस्परिक चासोका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि मंगलबार नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई भेट गरी भारतको निरन्तर सहयोगबारे विश्वास दिलाएका थिए। उनले विकास, पुनर्निर्माण, शान्ति, सुशासन र स्थिरतामा भारतको प्रतिबद्धता दोहोर्‍याउँदै आगामी दिनमा पनि नेपाललाई साथ दिने आश्वासन दिएका थिए। सो भेटमा कार्कीले छिट्टै भारतीय प्रधानमन्त्रीसँग संवाद गर्ने तयारीबारे राजदूतलाई जानकारी गराएकी थिइन्।

प्रधानमन्त्री मोदीले हालै कार्कीलाई बधाई सन्देश पठाउँदै नेपालको असामान्य परिस्थितिमा नागरिक सरकार गठन भएकोमा स्वागत गरेका थिए। उनले मणिपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेपालको राजनीतिक स्थायित्वतर्फको यो कदमलाई सकारात्मक संकेतका रूपमा लिएको अभिव्यक्ति दिएका थिए।

जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते पद त्यागेपछि, राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते राति कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्न नियुक्त गरेका थिए। सोही राति प्रतिनिधि सभा विघटन गर्दै राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते आम निर्वाचन हुने घोषणा गरेका थिए।

अब अन्तरिम सरकारको प्रमुख जिम्मेवारी आगामी ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हो। यही सन्दर्भमा भारतसँगको संवादले नेपालको तत्कालीन राजनीतिक यात्रा र द्विपक्षीय सहकार्यलाई कुन दिशा दिने हो भन्ने प्रश्नमा विशेष चासो रहने देखिन्छ।

ADVERTISEMENT