समाचार

दशैँ–तिहारमा अब पिङ हराउँदै! नयाँ पुस्ताले बिर्सिँदै पुरानो रमाइलो संस्कार

दशैँ–तिहारमा अब पिङ हराउँदै! नयाँ पुस्ताले बिर्सिँदै पुरानो रमाइलो संस्कार

दशैँ र तिहारजस्ता ठूला चाडपर्वको उत्साहसँगै गाउँघरमा पिङ हाल्ने परम्परा एक समय अनिवार्यजस्तै मानिन्थ्यो। तर पछिल्लो वर्षहरूमा सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ, बैतडी लगायतका जिल्लामा यो परम्परा हराउँदै गएको छ। पहिले चौतारा, रुख र गाउँबस्तीका खुला मैदानमा तामझामका साथ बनाइने पिङ अहिले थोरै ठाउँमा मात्र देखिन्छन्।

बडीमालिका नगरपालिका–७ का स्थानीय हिरालाल पाध्यायका अनुसार, दशैँको बेला ‘धर्ती छाड्नुपर्छ’ भन्ने विश्वासका कारण गाउँका मानिसले अनिवार्य रूपमा पिङ हालेर रमाइलो गर्थे। साथीभाइ र दौँतरी भेला भएर चचहुइई मच्चिने त्यो संस्कृति अहिले भने हराएको छ। पाध्यायले आधुनिक सुविधातर्फ मानिसहरू बढी आकर्षित हुन थालेपछि पिङको परम्परा हराउँदै गएको बताए।

बाजुराका ९ वटै स्थानीय तहमा दशैँतिहारका बेला पिङ, देउडा र मेलाजस्ता कार्यक्रमले गाउँबस्तीलाई चहलपहलमय बनाउँथे। तर अहिले ती परम्परागत गतिविधि लोप हुने अवस्थामा पुगेका छन्। नयाँ पुस्ताले त्यस्ता खेल–कुद र सांस्कृतिक अभ्यासप्रति चासो नदेखाउँदा बुढापाका चिन्तित बनेका छन्।

पिङ बनाउने विधि स्वयं परम्परागत ज्ञान, सिप र स्थानीय प्रविधिमा आधारित थियो। बाबियो काटेर लुठोबाटी चारवटा खामामा गाडेर बनाइने वा रुखको हाँगामा बाबियो बाँधेर खेलिने पिङ अहिले विरलै देखिन्छ। नयाँ पुस्तामा यी सीप हस्तान्तरण हुन नसक्दा परम्परा संकटमा परेको जानकारहरू बताउँछन्।

स्थानीय बुढापाकाले यस्तो परम्परा मात्र मनोरञ्जन नभई सांस्कृतिक सम्पदा भएको भन्दै नयाँ पुस्ताले पनि यसको निरन्तरता दिन आवश्यक रहेकोमा जोड दिएका छन्। चाडबाडसँग गाँसिएका यस्ता परम्परा हराउँदै जाँदा गाउँघरको सामूहिक जीवनशैली र सांस्कृतिक जगेर्नामा दीर्घकालीन असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

ADVERTISEMENT