समाचार

दसैँ सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले नयाँ पुस्ताको आकांक्षा समेट्न राज्यलाई आह्वान!

दसैँ सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले नयाँ पुस्ताको आकांक्षा समेट्न राज्यलाई आह्वान!

दसैँको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले युवा पुस्ताको आकांक्षा र इच्छालाई राज्य व्यवस्थाले समेट्नैपर्ने बताएका छन्। आइतबार जारी शुभकामना सन्देशमा उनले युवालाई भविष्यका आधारस्तम्भका रूपमा वर्णन गर्दै उनीहरूमा निहित देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउन सक्ने विश्वास व्यक्त गरे।

उनले सन्देशमार्फत विगतमा राजनीति बिगार्ने, भत्काउने र जलाउनेतर्फ बढी खटिएको उल्लेख गर्दै अब सुधार र निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। “हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौँ,” भन्दै उनले कार्यक्रमहरू बिगार्ने होइन, सपार्ने दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।

पूर्वराजाले सही र सत्यप्रति आस्था, अग्रजको आदर, मर्यादा र अनुशासन कायम राख्ने संस्कार, र राष्ट्रलाई माया गर्ने चेतना आवश्यक रहेको टिप्पणी गरे। “जे भयो भयो, जे नहुनु थियो त्यो भयो,” उनले भने, “अबको नयाँ पुस्ताले आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।”

उनले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्न पुराना पुस्ताले दिएको त्याग र बलिदानलाई अस्तित्व र गौरवशाली संस्कृतिको मेरुदण्डका रूपमा स्मरण गरे। नेपाल सधैं स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा उभिएको उनले उल्लेख गर्दै कुनै भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नै बाटो आफैं तय गर्दै नवनिर्माण गर्नुपर्ने बताए।

नवदुर्गा भवानीको आराधना गर्ने परम्परासहितको दशैँ पर्वले शुभेच्छा र सद्भाव आदान–प्रदान गर्ने अवसर दिने भन्दै उनले देशभित्र र विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरे।

ADVERTISEMENT