कला साहित्य

राजनीति : सिद्धान्त, त्याग र उत्तरदायित्व

राजनीति : सिद्धान्त, त्याग र उत्तरदायित्व

फागुन २२ आउँदैछ,

मतदानका दिन, आशाको बिहान।

तर के यो केवल मिति हो?

या हाम्रो विचार, नैतिकता र भविष्यको निर्णय?

 

राजनीति शब्द फोहोर होइन,

फोहोर त हामीले बनाएका अर्थ हुन्।

यो सत्ता जित्ने खेल मात्र हुँदो हो त

इतिहासमा त्यागको कथा किन हुन्थ्यो?

 

आज जसलाई पुराना नेता भनेर

सजिलै दोषारोपण गरिन्छ,

उनीहरू यही ठाउँमा

आरामबाट आएका थिएनन्।

कारागार, निर्वासन,

निषेध र अपमान सहँदै

उनीहरूले यो राजनीतिक आकाश बनाएका हुन्।

सबै दोषी थिएनन्,

सबै स्वार्थी थिएनन्,

धेरैले त जीवन नै सुम्पिएका थिए।

 

तर समयसँगै

केहीले आफ्नो त्याग बिर्सिए,

केहीले आफ्नो सिद्धान्त थन्क्याए।

गल्ती त्यागमा होइन,

गल्ती स्मृतिविहीन सत्तामा भयो।

 

हरेक पार्टीको आत्मा हुन्छ,

विचार, दर्शन, इतिहास।

त्यो आत्मा गलत हुँदैन।

गलत त त्यो शरीर हुन्छ

जसले आत्मालाई बोक्छ

तर उसको आवाज सुन्दैन।

 

Gen Z आन्दोलन

अनुहार बदल्नका लागि थिएन,

नाम फेर्नका लागि थिएन।

त्यो त चेतना जगाउन थियो,

राजनीतिलाई अर्थ सम्झाउन थियो।

तर आज त्यो आन्दोलनको नाममा

अर्थ नबुझेका अनुहारहरू

उम्मेदवार बन्न दौडिरहेका छन्।

 

राजनीति नबुझ्नेहरू

पद खोज्दैछन्,

उत्तरदायित्व नबोक्नेहरू

नेतृत्वको सपना देख्दैछन्।

यस्तो हचुवामा छानिएका पात्रहरू

के साँच्चै नेता बन्न सक्छन्?

कि उनीहरू केवल भीडका प्रयोग हुन्?

 

आज पार्टी बदल्नु

सामान्य भएको छ।

आज सुविधा हेरेर विचार फेरिन्छ।

तर के यो नैतिक हो?

के विचार कपडा हो

जुन मौसमअनुसार फेरिन्छ?

 

नेतृत्व भनेको

गल्ती नदेख्ने होइन,

गल्ती औंल्याउने साहस हो।

तर नेतृत्व त्यो पनि हो

जो गल्ती देखेर

आफ्नो पार्टी नछोडोस्।

 

आमा रिसाउँदा

घर छोडिँदैन।

आमालाई सच्याइन्छ,

संवाद गरिन्छ,

तर आमालाई त्यागिँदैन।

पार्टी पनि त्यस्तै हो,

त्याग गरेर बनाइएको,

संघर्षले हुर्काएको।

 

जो आफ्नो पार्टीको कमजोरी

भित्रैबाट औंल्याउन सक्छ,

र सुधारका लागि लड्न सक्छ,

त्यही नै साँचो नेता हो।

भाग्नु सजिलो हुन्छ,

बसिरहनु गाह्रो।

 

हामीलाई

पुरानो सिद्धान्त नयाँ टोकरीमा

बेच्नेहरू चाहिँदैनन्।

हामीलाई चाहिन्छ

त्याग सम्झने नेतृत्व,

विचारप्रति इमानदार राजनीति,

र नैतिकताको भार बोक्न सक्ने नेता।

 

राजनीति अझै सम्भव छ,

यदि हामीले

अनुहार होइन,

चरित्र छान्यौँ भने।

पद होइन,

उत्तरदायित्व खोज्यौँ भने।

 

किनकि अन्ततः

सिद्धान्त सधैं निर्दोष रहन्छ,

दोषी त सधैं

त्यो सिद्धान्त बिर्सनेहरू नै हुन्छन्।

 

फागुन २२ ले

देशको मार्ग परिवर्तन गरोस्,

नाम होइन, न्याय र सिद्धान्त जितोस्।

-चन्दा पराजुली

चन्दा पराजुली
ADVERTISEMENT