राजनीति

बालेन शाह vs गगन थापा: को बन्ला नेपालको अर्को प्रधानमन्त्री?

बालेन शाह vs गगन थापा: को बन्ला नेपालको अर्को प्रधानमन्त्री?

नेपालको समकालीन राजनीतिक परिदृश्य अहिले एक प्रकारको असहज सन्नाटा र गहिरो संरचनात्मक तनावको बीचमा उभिएको छ। 'जेन-जी' (Gen-Z) आन्दोलनको रापताप पछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को नाम चर्चामा छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बालेन्द्र शाहलाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको अवस्था छ। जब रवि लामिछाने, कुलमान घिसिङ र बालेन्द्र शाह एक भए, एक प्रकारको अनौठो सन्नाटा नेपाली राजनीतिमा छाएको छ। पुराना दलहरू र संस्थापन पक्षमा एउटा गहिरो डरभाव छ—यदि आगामी सरकार यी नयाँ शक्तिहरूको हातमा गयो भने उनीहरू विरुद्ध विभिन्न बहानामा मुद्दा हाल्न सक्छन् र प्रतिशोध साँध्न सक्छन्। तर, यो 'वैकल्पिक शक्ति' को बाहिरी आवरण जति चम्किलो देखिन्छ, भित्री यथार्थ कानुनी झमेला र कार्यशैलीगत कमजोरीले ग्रस्त छ।

जनताले आशाको नजरले हेरेका यी तिनै नेताहरूमा अहिले 'राजनैतिक गुण' को अभाव खट्किन थालेको छ। रवि लामिछाने भर्खरै सहकारी प्रकरणमा धरौटीमा छुटेका छन्। कुलमान घिसिङ विरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धेरै उजुरीहरू परेका छन्। यो कानुनी सकसबाट बालेन्द्र शाह पनि अछुतो छैनन्; उनीमाथि पनि अख्तियारमा केही उजुरीहरू छन् भने सिंहदरबार जलाउने धम्की दिएको र 'जेन-जी' आन्दोलनमा जनता भड्काएको जस्ता गम्भीर आरोपहरू लागेका छन्। प्रधानमन्त्रीको उम्मेदवारको चर्चा गरिरहँदा, बालेन्द्र शाहलाई पूर्ण अन्तर्राष्ट्रिय साथ भए पनि र जनतामा लोकप्रियता राम्रो भए पनि, उनमा एक प्रकारको अनौठो गुण देखिएको छ। राजनीति गर्नेको छाला गैंडाको जस्तै हुनुपर्छ—अर्थात् आलोचना सहने, छलफल गर्ने र परिआएको झेल्ने क्षमता हुनुपर्छ। तर, बालेन न आलोचना सहन्छन्, न जनता भेट्छन्, न मिडिया फेस गर्छन्, न त पारदर्शी नै छन्। उनी रहस्यमय देखिन्छन्, जसका कारण विपक्षीहरूले उनलाई 'लुसिफर' को आरोप समेत लगाउने गरेका छन्।

बालेनको कार्यशैलीले लोकतान्त्रिक जवाफदेहितालाई गिज्याइरहेको भान हुन्छ। उनी जनतासँग प्रत्यक्ष कुराकानी तथा भेटघाट गर्न रुचाउँदैनन्; उनी महानगरपालिकामा जनतालाई भेट्दैनथे। बरु कीर्तिपुरको 'सस', छैमलेको 'छैमले रिसोर्ट', ललितपुरका केही रेस्टुरेन्ट र ललितपुरका केही निजी घरहरूमा भेटिने गरेका छन्। मेयर निर्वाचित हुनेबित्तिकै उनले हिमालयन टेलिभिजनका पत्रकारलाई दुव्र्यवहार गरेर आफ्नो असहिष्णु स्वभाव देखाए। फ्रान्स भ्रमणमा आफ्ना अवैतनिक सल्लाहकार कुमार व्यञ्जनकारलाई गैरकानुनी तरिकाले महानगरको खर्चमा लगेर पारदर्शिताको धज्जी उडाए। महानगरका प्रमुख प्रशासकीय अधिकृतहरू उनको दबाब सहन नसकेर सरुवा माग्न बाध्य भए, जसले गर्दा कर्मचारीहरू अख्तियार धाउनुपर्ने स्थिति बन्यो। विशेष गरी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग त उनको ठूलो 'लफडा' नै भयो। यी सबै प्रकरणले बालेनको राजनीतिक भविष्य खासै सुन्दर देखिँदैन।

यस्तो निराशाजनक परिदृश्यमा मानिसहरूमा एउटा झिनो आशा बाँकी छ—कतै नेपाली काङ्ग्रेस सुध्रिन्छ कि भनेर। यो सुधारको आशा महामन्त्री गगन थापासँग जोडिएको छ। गगन थापाले विशेष महाधिवेशन गरेर नेपाली काङ्ग्रेसको नेतृत्व लिने रणनीति बुनेका छन्। उनीसँग ५०% भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको साथ छ। गगन थापाले गराउने विशेष महाधिवेशनलाई निर्वाचन आयोगले पनि मान्यता दिने सम्भावना प्रबल छ। आयोगले मान्यता दिएपछि गगन थापाले संसदीय चुनावको टिकट बाँड्नेछन् र संसदीय दलको नेता हुँदै प्रधानमन्त्री हुने सम्भावना बलियो बन्नेछ। निर्वाचन आयोगले मान्यता दिएपछि असन्तुष्ट पक्ष अदालत जाने समय हुँदैन; यदि उनीहरू अदालत गए पनि फैसला आउन वर्षौं लाग्नेछ, र त्यतिञ्जेलमा उनी प्रधानमन्त्री भइसकेका हुनेछन्।

गगन थापा पनि विवादमुक्त पात्र त होइनन्; यो यस्तो समाज हो जहाँ भगवान राम र कृष्ण पनि विवादित छन्। तर, कमसेकम गगन 'राजनैतिक' छन्। उनी जनता र मिडिया फेस गर्छन्। उनीसँग बलिया पाखुरा भएका कार्यकर्ता मात्र होइन, 'बुद्ध र विवेक' पनि छ। अर्कोतर्फ, नेपाली काङ्ग्रेसका वृद्ध अवस्थाका नेताहरूलाई पनि 'जेन-जी' आन्दोलनमा जस्तो भौतिक आक्रमण वा 'पिटाइ' खान मन छैन होला। त्यसैले, सुरक्षित अवतरणका लागि उनीहरूले नेतृत्व हस्तान्तरण गर्न सक्ने स्थिति बन्दैछ। तसर्थ, अबको निर्वाचनमा गगन थापा प्रधानमन्त्रीको उम्मेदवार बन्ने र देशलाई नेतृत्व दिने प्रबल सम्भावना देखिन्छ। मुलुक अब बालेनको अनिश्चित र अपारदर्शी बाटोमा लाग्ने कि गगनको सुधारिएको लोकतान्त्रिक बाटोमा हिँड्ने भन्ने ऐतिहासिक मोडमा उभिएको छ।

बालेन्द्र शाह गगन थापा
ADVERTISEMENT